
झापामा हात्ती आतंक, हात्ती आक्रमणमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
झापा — झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।
गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।
त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ भने श्रीमान् शान्तिरामको उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार छावासहित गाउँ पसेको ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।
छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।



कागजपत्र |
