
त्यो एउटा दृश्यले चिमोटेपछि सिलवालले थालिन् सेवाको कर्म
काठमाडौं– यो कत्ति राम्रो चिज हो कसैले पनि आफ्नो सेवाका लागि हरेक समयलाई सुधार गर्दै जानु पर्दैन, बस मनले चाहेपछि गर्नुपर्छ, त्यसैले सन्तुष्टि दिन्छ। यस्तो सन्तोष हर कोहीले उपभोग गर्न पाउँदैन, समाजमा अति कम मात्र यस्ता पात्र हुन्छन्। उनीहरू नेपथ्यमा हुन्छन् तर सेवा गरिरहेका हुन्छन्। त्यसै मध्येकी एक हुन्, सृजना सिलवाल।

सन्तुष्टिको सीमा हुँदैन त्यसैले सेवासँग उनले जोडिरहेकी छन्, उपत्यकाकै कर्णाली मानिने ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का गाउँ गाउँमा। कसैसँग जोडिएको परिचयमा होइन, आफ्नो सेवाभावको कर्मले उनको परिचयलाई स्थापित गराइरहेको छ। त्यसैले त ‘कर्णालीरुपी फरक ललितपुर’का सर्वसाधारण महिला र ज्येष्ठ नागरिक उनलाई अधिक माया गर्छन्, साथी, छोरी र संगिनी जसरी।
बर्षका हरेक महिना उनी समाज सेवामा समर्पित छिन्। नामको सेवा होइन, कामको सेवा। कठ्यांग्रिदो जाडोमा उनले हालै गोदावारी नगरपालिका–६ लेप्सेगाउँका ज्येष्ठ नागरिक, असाह्य र बालबालिकालाई न्यायो कपडा वितरण गरिन्। कुनै चन्दा उठाएर होइन, कुनै संस्थाको सहयोग मागेर होइन। आफ्नै आत्माले चिताएर उनी यसरी सेवामा समर्पित छिन्।
लक डाउनका बेला सोही क्षेत्रमा उनले खाद्यान्नलगायतका सामग्री पनि वितरण गरेकी थिइन्। ‘सेवाले एउटा आनन्द दिन्छ, त्यो जत्तिको आनन्द त संसारमा के नै हुन्छ होला?’, उनी सुनाउँछिन्।

समाजभित्र छिरेपछि देखिन्छन् अनेक कथा। सिलवाललाई पनि ललितपुरको यो विकट क्षेत्रभित्र विभिन्न कार्यक्रममा जाँदा देखेका कथाले घोच्यो। महिला समूहलगायतले उनलाई कार्यक्रममा बोलाउने गर्थे। त्यहि मेसोमा उनले गाउँका ज्येष्ठ नागरिकले बिहानैदेखि मदिरा सेवन गरेको देखिन् र सोधिन्, ‘किन बिहानैदेखि पिउनुभएको?’
‘जाडो छ, जाडो मेटाउनका लागि भए पनि यसरी पिउनुपर्छ’, उत्तर सुनेपछि उनी छक्क परिन्। र, उनमा पलायो यी ज्येष्ठ नागरिक र असाह्याका लागि केही गर्ने धोको। ‘त्यसपछि आफ्नै पहलमा न्यानो कपडा वितरणदेखि के छन् आवश्यक भन्ने चिजलाई बुझ्न थालेकी थिएँ’, उनले सुनाइन्।
समाज सेवा भनेको ठूलो परिधि र क्षेत्रमा मात्र गरिने चिज होइन भन्ने सिलवाललाई हेक्का छ। ललितपुरकै पनि पाटनलगायतका क्षेत्रमा ग्रामिण भेगको जस्तो पीडा देख्न र सुन्न पाइँदैन, त्यसैले उनी गाउँ केन्द्रित भइन्। ‘पहिला पहिला त ज्याकेटलगायतका कपडा वितरण गरियो तर ज्येष्ठ नागरिकहरूले लगाउन जान्नु भएन, बिग्रियो भन्ने गुनासो गर्नुभयो। अहिलेचाहिँ सललगायतका न्यायो कपडा बाँड्ने गरेकी छु’, उनले भनिन्।

उनी ललितपुर क्षेत्र नम्बर १ मा मात्रै केन्द्रित हुनुलाई कतिपयले पति नवराज सिलवालको चुनावी क्षेत्र भएकाले पनि हो कि भन्ने उत्सुकता राख्छन्। उनी सिलवालसँग चुनावी अभियानको त्यो ठूलो भिडमा समाजका साना दुखबारे बुझ्ने समयबाट बेखबर थिइन्।
‘राजनीतिक कार्यक्रममा त त्यति जाने गरेकी छैन। म त महिला, बालबालिका र ज्येष्ठ नागरिकका विभिन्न कार्यक्रममा अन्य समयमा नजिकसम्म बुझ्न सक्ने समय मिलाएर जाने गरेकी छु’, उनी भन्छिन्।

समाज सेवाको महत्वपूर्ण कमाईचाहिँ ज्येष्ठ नागरिकको आशिर्वाद, महिलाको माया र बालबालिकाको सम्मान ठान्छिन् उनी। भन्छिन्,‘यी स–साना आवश्यक चिजका बारेमा हामीले धेरै सोचेका हुँदैनौं। ललितपुरको सुगम क्षेत्रका मानिसका ठूलो र फजुल खर्चले यहि क्षेत्रका गाउँका मानिसका आङले न्यानो पाउँछ भन्ने पनि बुझ्नुपर्छ जस्तो लाग्छ।’ त्यसैले होला सायद, सेवाको कर्ममा हिँड्दा उनी थकित हुन्नन्।




कागजपत्र |
