
मन्त्रीमण्डल बिस्तारका लागि छलफलः तोसिमा र सोविता मन्त्री बन्दै !
काठमाडौं – सरकारमा मन्त्रीमण्डल विस्तारको छलफल सुरु भएको छ । ७ दलको सहमतिबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफूसहित ८ जनाको मन्त्रिपरिषद् गठन गरेका छन् ।
तीनजना उपप्रधानमन्त्री र चार जना मन्त्रीले सोमबार नै सपथ लिएका छन् । अहिलेसम्मको मन्त्रीहरुमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट मन्त्रीहरु बनिसकेका छन् । उपप्रधानमन्त्रीहरुको मन्त्रालय टुंगो लागिसकेपनि मन्त्रीहरुको भने टुंगो लागेको छैन ।
करिब ६ महिना अघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाएको छ । पार्टी अध्यक्ष रवि लामिछानेले सोमबार नै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको सपथ लिएका छन् ।
सरकारमा सहभागी दलहरुमध्ये तेस्रो दलका रुपमा राष्ट्रिय स्वतन्त्रले बलियो उपस्थिति जनाउने देखिइसकेको छ । प्रधानमन्त्री पछि सर्वाधिक प्रभावशाली मानिएको मन्त्रालय उनले पाउनु नै त्यसको प्रमाण हो ।
राष्ट्रिय स्वतन्त्र यसबाहेक अन्य चार मन्त्रालयमा आफूले दाबी पेश गरेको जनाइएको छ । रास्वपाले स्वास्थ्य, कानुन, शिक्षा, पर्यटन मन्त्रालयमा दाबी गरेको जनाइएको छ ।
सरकारमा समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने जनाएसँगै सरकारमा जाने दलहरुबीच मन्त्रालयको भागबण्डा कसरी लगाउने भन्नेमा छलफल तीब्र भइरहेको छ ।
प्रचण्डलाई प्रधानमन्त्री सुम्पिएको प्रमुख दल नेकपा एमालेले ८ मन्त्रालयमा दाबी गरेको छ भने माओावादी स्वयंले प्रधानमन्त्रीसहित ६ मन्त्रालयमा सहमति भइसकेको स्रोतले दाबी गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ मन्त्रालयमा दाबी गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ मन्त्रालयमा दाबी गरेको छ । अन्य तीन समर्थक दल सरकारमा नगए उनीहरुको मागदाबीअनुसार संख्या पुग्छ । तर उनीहरुले सरकारमा जाने इच्छा व्यक्त गरे भने मन्त्रालय यीनै दलहरुबाट घटाउनु प्रचण्डलाई समस्या पर्न सक्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले दाबी गरिरहेका ५ मन्त्रालयहरुमा सम्भावित मन्त्रीहरु विज्ञताका आधारमा पठाउने जनाइसकेको छ । त्यसकारण रास्वपाबाट मन्त्री बन्नेमा डा. तोसिमा कार्की, सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, डीपी अर्यालको सम्भावना बढी रहेको छ ।
लामोसमयदेखि स्वास्थ्य क्षेत्रका समस्याहरुमा आवाज उठाइरहेकी डा. तोसिमा कार्की स्वास्थ्य मन्त्रालयका लागि मुख्य पात्र हुन् भने रास्वपाले कानुन मन्त्रालय पाएको खण्डमा सोविता निर्विकल्प पात्र हुन् । लामो समयसम्म शिक्षा क्षेत्रसँग सम्बद्ध शिशिर खनाल शिक्षा मन्त्रालयको बागडोर लिनका लागि कस्सिएका छन् भने विराजभक्त र डीपी पर्यटन तथा संस्कृति मन्त्रालयका लागि योग्य देखिन्छन् । विज्ञताको आधारमा मन्त्री पठाउने निर्णय गरेको रास्वपाले बरिष्ठ र कनिष्ठ कोही नभएकोले युवा उम्मेदवारहरु नै सरकारमा पठाउने छ ।
रास्वपाले सञ्चार मन्त्रालय पाएको खण्डमा सोविता र मनिष झाले दाबी प्रस्तुत गर्न सक्छन् ।
अहिलेसम्म गृह, अर्थ, भौतिक पूर्वाधार र उद्योग तथा आपूर्ति मन्त्रालयको टुंगो लागिसकेको छ । तीन मन्त्रालयमा तीन उपप्रधानमन्त्री पाएका छन् भने उद्योग तथा आपूर्ति मन्त्रालय जनमत पार्टीले पाएको छ ।
माओवादी पछिको दल बन्दै सरकारमा गएको रास्वपाको प्रतिनिधिसभामा रहेको २० सिटको अंकलाई हेर्दा पनि ५ जनासम्म मन्त्रालय पाउने सम्भावना बलियो देखिएको छ ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य रास्वपाको प्रमुख चाहना हो । आफूले मागेअनुसारको संख्यामा मन्त्रालय नपाउने हो भने रास्वपाले यी दुई मन्त्रालयका लागि भने दाबी नछाड्न सक्छ । यी दुई मन्त्रालयमा मन्त्रीका लागि रास्वपामा डा. तोसिमा कार्की र शिशिर खनाल निर्विकल्प पात्र हुन् ।
त्यस्तै कानुन वा सञ्चार मन्त्रालय पाएको खण्डमा सोविताले बाजी मार्ने देखिएको छ । कानुन व्यवसायीका साथ–साथै सञ्चारकर्मी पनि रहेकी गौतम पार्टीकी प्रभावशाली नेतृको रुपमा स्थापित भइसकेकी छिन् । उनले माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी थिइन् । त्यस्तै डा. कार्कीले उर्जामन्त्री पम्फा भुषाललाई पराजित गरेकी थिइन् भने खनालले भिमसेनदास प्रधानलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
सर्वाधिक अनुभवी व्यक्ति समेत रहेका विराजभक्त श्रेष्ठलाई मन्त्री बनाउनु रास्वपाका लागि उपयुक्त देखिन्छ । यसअघि ५ वर्ष प्रदेशसभा सदस्य बनेका श्रेष्ठ संसदीय अनुभव भएका एकमात्र सांसद हुन् ।



कागजपत्र |
