
मन्त्रिपरिषद्को पहिलो प्रस्तावमै रविको ‘अब्जेक्सन’ !
सुरूमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई प्रवक्ताको प्रस्ताव गरिए पनि उनले नमानेपछि पाैडेललाई जिम्मेवारी
काठमाडौं – सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठककै प्रस्ताव उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरेका छन् । सोमबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकमा उनलाई प्रस्ताव गरिएको प्रवक्ताको जिम्मेवारी लामिछानेले अस्वीकार गरेका हुन् ।
बैठकले उनलाई सरकारको प्रवक्ताका रुपमा प्रस्ताव गरेको थियो, तर उनको त्यस प्रस्तावलाई अस्वीकार गरेपछि नेकपा एमालेका नेता एवं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ता तोकिएको थियो ।
गृहमन्त्री लामिछानेले किन प्रवक्ताको प्रस्ताव अस्वीकार गरे त्यसको बारेमा भने केही जनाइएको छैन ।
मन्त्रालय निश्चित भएका उपप्रधानमन्त्रीका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सपथ सकिएपछि पदभारका लागि सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्रीका साथै तीनै उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पदभार ग्रहण गरेपछि साँझ पौने ८ बजे मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । उक्त बैठक विभिन्न निर्णय गर्दै ८ बजे सकिएको थियो । १५ मिनेटका लागि मात्रै बसेको बैठकले यस आर्थिक वर्षको असारसम्मको बढेको तलब भत्ता नलिनेका साथै विभिन्न निर्णय गरेको थियो ।
यद्यपी मन्त्रिपरिषद् बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले प्रवक्ताको जिम्मेवारी दिइने जनाइएको छ ।



कागजपत्र |
