अर्जेन्टिनाले जितेको खुशीमा तीनवटा खसी काटेर पनौतीमा भोज !


काभ्रे – कतारमा सम्पन्न विश्वकपले नयाँ विजेता पाएको करिब एक साता पुगिसकेको छ । यसपटकको विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध जित निकाल्दै अर्जेन्टिनाले विश्वकप इतिहासमा तेस्रो पटक उपाधि हात पारेको छ ।

उता उपाधि हात पारेपछि स्वदेश फर्किएर अर्जेन्टिनाका खेलाडीहरुले खुशीयाली मनाइरहेका छन् भने यता नेपालमा पनि अर्जेन्टिना विश्वकप उपाधि हात पारेकोमा समर्थकहरुले खुशीयाली मनाएर भोज नै खाएका छन् ।

काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ५ चौकोटमा अर्जेन्टिनाले विश्वकप जितेको खुशीयालीमा शनिबार तीन वटा खसी काटेर भोजको आयोजना गरिएको छ ।

चौकोटका करिब ३ सय स्थानीय सहभागी रहेको उक्त भोजमा अधिकांश सहभागीहरु अर्जेन्टिनाको जर्सीमा उपस्थित भएका थिए । त्यसक्रममा स्थानीय बालबालिकाहरूले फुटबल समेत खेलेका थिए ।

भलिबलका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका फुटबल खेलाडी विजय केसीको पहलमा स्थानीय खेलप्रेमी युवाहरुको अगुवाईमा चौकोटस्थित विद्यालयको प्रांगणमा आयोजित उक्त भोजमा वडा नं. ५ का खेलप्रेमीहरुको सहभागीता रहेको थियो ।

खेल क्षेत्रमा पनौती नगरपालिकाकै उत्कृष्ट वडा मानिएको उक्त वडामा खेलकुदको माहौल एकदम राम्रो रहेको वडाध्यक्ष विनोद खत्रीले जनाए । उनले उक्त भोजमा ३ सय भन्दा बढी स्थानीयको स्वतःस्फूर्त उपस्थिति रहेको जनाए ।

उक्त वडा यसअघि सम्पन्न पनौती नगरपालिका मेयरकपमा २ पटकसम्म च्याम्पियन बनेको वडा समेत रहेको पनि खत्रीले जनाए ।

‘हाम्रोमा फुटबल भनेको अत्यन्तै लोकप्रिय खेल हो, त्यही माथि अर्जेन्टिनाले खेल जितेकोले हामीले खुशीयाली मनाएका हौं,’ भोजका पहलकर्ता विजयले भने । भलिबलको अन्तर्राष्ट्रिय रेफ्री भएपनि आफू सशस्त्र प्रहरीको टिमबाट फुटबल खेल्दै आएको बताउने विजय पेशाले सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षकसमेत हुन् ।

प्रतिक्रिया