वीरगञ्ज महानगर ३२ वटै वडा झिलिमिलि


वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिलि बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोकचोकमा बत्ती जडान गरेसँगै ३२ वटै वडा झिलिमिल बनेको हो । टोलटोलमा रहेका पोल र सडकमा वत्ति जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिए ।

संघ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ । ३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन ।

महानगरपालिकाले असार १९ गते स्वेतपत्र सार्वजनिक गर्दै यस अघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उल्लेख गरेको थियो । नयाँ नेतृत्व आएसँगै कामलाई तिब्रता दिएपछि तीन महिनामा अभियान अन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिल बनेको हो ।

सम्झौताअनुसार १०० बाट, ६० बाट र ४० बाटको गरी कूल १३ हजार ३ सय ९० वटा बत्ती र १ सयभन्दा बढी कन्ट्रोल प्यानल जडान गर्ने काम सकिएको शाखाका इन्जिनियर उपाध्यायले जानकारी दिए । केही वडामा पहिले जडान भएको बत्ती नबल्ने समस्या देखिएकोमा त्यसलाई हटाएर नयाँ जडान गरेसँगै अहिले अधिकांस बत्ती बल्ने गरेको छ ।

सूर्योदय उर्जा, तोप्सन इनर्जी जेभी, काठमाडाैंले २३ करोड ९६ लाख २४ हजार १ १२७ रुपैयाँमा ठेक्का सकार गरेर काम गरेका थिए । सुरुमा एक वर्षभित्रै काम सक्ने सम्झौता भएकोमा अहिले आएर मात्रै काम अन्तिम चरणमा पुगेको हो । जडान भएका बत्तीमा कुनै समस्या देखिए तत्काल खबर गर्न पनि महानगरको विद्युत् शाखाले सबैलाई आग्रह गरेको छ ।

विगतमा बत्ति नबलेको गुनासो दैनिक आउने गरेको भए पनि अहिले मर्मत र जडानको कामलाई तिब्रता दिएकाले गुनासो आउन पनि कमि भएको छ । आएका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी टोली परिचालन हुने हुँदा गुनासो आउन कम भएको बताउँछन् विद्युत शाखाका इन्जिनियर उपाध्याय बताउँछन् ।

प्रतिक्रिया