
‘यो देशको कम्युनिस्ट पार्टी कुन हो? टेलिभिजनबाट फुकेर हुँदैन, सडकमा आएर हेर्नुस्’
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई टेलिभिजनबाट पार्टी आधिकारिकताबारे नबोल्न चेतावनी दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै खनालले पार्टी आधिकारिक कुन हो भनेर आफूहरूको आमसभा हेर्न ओलीलाई चेतावनी दिए ।
‘यो देशको कम्युनिस्ट पार्टी कुन हो आएर हेर्नुस्। टेलिभिजनबाट फुकेर हुँदैन। सडकमा आएर हेर्नुस्। आधिकारिक नेकपा प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा हो । केन्द्रीय कमिटीमा दुई तिहाई बहुमत छ । सचिवालयमा बहुमत छ । सबै प्रदेशका कमिटीमा बहुमत छ । जिल्लामा पनि बहुमतमा छौ,’ खनालले भने ।
केपी ओलीले गरेको प्रतिगमनलाई जनताले नसहने उनको भनाइ छ । ओली कम्युनिस्ट पार्टीमा हुनु दुर्भाग्य भएको खनालको टिप्पणी छ। समाजवादको यात्रामा ओलीले कुठाराघात गरेको उनको आरोप छ।
‘केपी ओली जस्तो मान्छे कम्युनिस्ट पार्टीमा जन्मियो। वास्तबमा त्यो मानिस भष्मासुर रहेछ। प्रतिगामी रहेछ। जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादमा जान्छ भन्ने हामीले अपेक्षा गरेका थियौं,’ उनले भने, ‘अब हाम्रो देशबाट गरिबी उन्मुलुन हुनेछ भन्ने ठानेका थियौँ। हामी समृद्ध नेपाल निर्माण गर्ने थियौँ। ७० वर्षपछि बहुमतको सरकार निर्माण गरेका थियौँ।’
खनालले ओली ठग भएको आरोप लगाए। ओलीसँगै जेलमा बसेका नेताहरू इमान्दार भएपनि उनी भने बेइमान भएको खनालको आरोप छ। ‘केपी ओली ठग नम्बर एक हो। हामीसँग केपी ओलीसँगै जेलमै बसेका नेता हुनुहुन्छ। उनले जेलमा बस्दा पनि रामायण र महाभारत पढे। त्यसमा पनि सकुनीको बारेमा पढे। सकुनी केपी ओलीको रुपमा कम्युनिस्ट पार्टी छ। सकुनीबाट होसियार ।’ उनले भने।



कागजपत्र |
