
कपन आगलागी घटनाः घरधनीले मिडियाबाजी र भ्रम फैलाएको इलाइट हिमालयनका सञ्चालकको गुनासो
काठमाडौं – काठमाडौको कपनमा रहेको ईलाईट हिमालयन एड्भेन्चर्स प्रालीले घरधनीबाट अन्यायमा परेको र भ्रम फैलाइएको गुनासो गरेको छ ।
रिपार्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफुमाथी घरधनीले लगाएको आरोप झुटो भएको कम्पनीका प्रमुख सञ्चालक निर्मल पुर्जाले जनाए ।
कम्पनीले उक्त घट्नामा आफूहरु संवेदनशील रहेको र निरन्तर घरधनीको सम्पर्कमा रहेको उल्लेख गर्दै आफूहरुमाथी लगाइएको आरोप कपोलकल्पित र भ्रामक रहेको दाबीसहित कसैलाई पनी भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।
कम्पनीका अधिवक्ता विरेन्द्र कुमार ठाकुरले घरधनीले कम्पनीमाथि भ्रामक आरोप लगाएको स्पष्ट पारेका हुन् । उनले भनेका छन् –‘हामी यो घट्नाप्रति संवेदनशील छौं । घरधनीले मिडिया र सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित ढंगले बोलेकोप्रति हामी दुःखी छौं ।’ भ्रमपूर्ण विषयले आफूहरुलाई शान्तिपूर्ण र स्वतन्त्रतापूर्वक पेशा व्यवसाय गर्न पाउने हकअधिकारबाट कुण्ठित गरेको उनको दावी छ । ठाकुरले यो विषय अनुसन्धानको क्रममा रहेको उल्लेख गर्दै घरधनी टंक घिसिङ्ले मिडियामा आफ्नो ग्राहकहरुलाई भ्रममा पारेको उनको भनाइ थियो ।
अनुसन्धानको क्रममा रहेकाले अनुसन्धानपश्चात् उक्त विषयमा ठोस परीणाम आउने ठाकुरले बताए ।
त्यसैले उक्त विषयमा सञ्चारकर्मी र घरधनीले सत्य, तथ्य कुरामात्र बोल्न कम्पनीको तर्फबाट आग्रह गरिएको छ ।
घरधनी टंकले कम्पनीले धान्न नसक्नेगरी रकम माग गरेको पनि कम्पनीले जनाएको छ । कम्पनीको आयआर्जनले मागबमोजिमको क्षतिपूर्ति भर्न नसक्ने जानकारी गराइएपनि घरधनीले आफूहरुको ईज्जत, सम्मान तथा कम्पनीको साखलाई समेत असर पर्नेगरी सर्वसाधरणमा भ्रम फैलाएको कम्पनीको आरोप छ ।
घरधनी घिसिङ्ले आफ्ना कम्पनीका सञ्चालकहरु व्यवसायिक सिलसिलामा विदेशमा रहेको अवस्थामा कम्पनीका कर्मचारीहरुलाई तथानाम गालीगलौज तथा विभिन्न सञ्चारमाध्यमको प्रयोग गरी आफूहरुको विषयमा भ्रमपूर्ण अभिव्यक्ति दिएको कम्पनीको दावी छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ कम्पनीमा प्रतिनिधि, कर्मचारीमार्फत घरधनीसँग निरन्तर सम्पर्कमा रहेकोमा झुट्टा र कपोलकल्पित तथ्यहरुको सिर्जना गरी कम्पनीले जानीजानी घट्ना घटाएको भन्ने भावसहितको अभिव्यक्तिबाट हामीलाई ठूलो अन्याय भएको छ, अतः सम्पूर्ण सरोकारवाला, शुभचिन्तक, आफन्तजन तथा हाम्रा विश्वभरी रहेका ग्राहकवर्गमा पर्न गएको यसप्रकारको गलत, झुट्टा तथा भ्रमयूक्त अभिव्यक्तिप्रति कुनै प्रकारको भ्रममा नपर्नको लागि हार्दिक अनुरोध गर्दछौं । र, राज्यका निकायहरुलाई सत्य, तथ्यको छानविन गरी दोषी पाइएमा आवश्यक कारबाही गर्न अनुरोध गर्दछौं ।’
गत असोज ५ गते काठमाडौं महानगरपालिका बुढानिलकण्ठ कपनमा भएको हिमालयन एडभेन्चर प्रालीमा भएको आगलागीमा परी तीन जनाको ज्यान गएको थियो । कम्पनीले भने उक्त घट्नाको सम्बन्धमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको सुनाएको छ ।
कम्पनीको तर्फबाट सञ्चालक मिंग्मा ग्याबु शेर्पा (डेभिड) को नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘ अकस्मात र अप्रत्यासित रुपमा आगलागी भई कम्पनीमा कार्यरत तीनजना कर्मचारीहरुको दुःखद् निधनले हामी मर्माहत भएका छौं । साथै, कम्पनीको करोडौंको सम्पत्ति जलेर नष्ट भएको अवस्था छ, घरधनीको घरमा समेत क्षति भएकोमा हामी दुःख व्यक्त गर्दै घरधनीको घरको पूनः निर्माणमा कम्पनीको तर्फबाट कम्पनीको क्षमताले भ्याएसम्मको योगदान गर्ने भन्दै घरलाई पुगेको क्षतिलाई मध्येनजर गर्दै निर्मल पुर्जा र अन्य सञ्चालक मिंग्मा ग्याबु शेर्पा (डेभिड) र मिंग्मा तेन्जी शेर्पाहरुले ईलाइट हिमालयन एड्भेन्चर्स प्रालिको तर्फबाट १ करोड रुपैयाँ सहयोगस्वरुप प्रदान गर्ने निर्णय भएको थियो । घरको पूनः निर्माण गर्नको लागि अन्दाजी १/२ करोड लाग्ने र बाँकी २० लाख रुपैयाँ पूरानो सामानलाई पुनः प्रयोग गरेवापत पूर्ति हुने गरी सो रकमको व्यवस्था गरिएको हो ।’



कागजपत्र |
