

उदयपुरमा निजी जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ घाइते

कटारी – उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा सोमबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
ताप्लीको रुपाटारबाट कटारीतर्फ जाँदै गरेको प्र. २–०१–००१ च. ००५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब सय मिटर तलझरी दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार ९ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश पोदारले बताए । घाइतेमध्ये उदयपुर ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मीनबहादुर सार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।
घाइते सर्लाहीको लालबन्दीका ३० वर्षीय फडिन्द्र श्रेष्ठ, उनकी ७ वर्षीया छोरी भवानी श्रेष्ठ र २ वर्षीया भूमिका श्रेष्ठ, उदयपुरको ताप्ली–५ रुपाटार की २३ वर्षीया सुमित्रा गिरी र ४५ वर्षीय झगडबहादुर विकको कटारी अस्पतालमा उचार भइरहेको छ । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक पोदारले बताए ।
जिप चालक उदयपुरको ताप्ली–५ खानिडाडाका ३२ वर्षीय ईश्वरनारायण श्रेष्ठ ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रनमा रहेको प्रहरीले जनाएको छ ।

