

माओवादी नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार, आगामी साता नेपाल फर्किँदै

काठमाडौं — नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सांसद वर्षमान पुन ‘अनन्त’ को स्वास्थ्यमा सुधार आएको छ । चीनमा उपचाररत पुनको स्वास्थ्य सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुन उपचाररत छन् । चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउनले गर्दा क्वारेन्टिनमा उनको उपचार थालिएको थियो ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।
उनी पुनः रोग बल्झिएपछि मंसिर तेस्रो साता सेन्जेन प्रस्थान गरेका थिए । पुनसँगै पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् ।

