बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ मृत्यु हुनेको पुग्यो


नयाँदिल्ली – मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो बिहार । मुख्यमन्त्री नितिश कुमारले ७ वर्षअगाडि बिहारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए । तर, मदिरा निषेधित त्यही बिहारमा ‘विषालु रक्सी’ सेवनले मृत्यु हुनेको संख्या डरलाग्दो छ ।

पछिल्लो दुई दिनमा सारण जिल्लामा रक्सी सेवनकै कारण मृत्यु हुने संख्या ४३ पुगेको छ । छपराको यो घटनाले बिहारको राजनीतिलाई तताएको छ । नितिश कुमारको मदिरा निषेध कार्यक्रम फेल रहेको विपक्षीहरूले आरोप लगाएका छन् । प्रहरी प्रशासन र राज्य संयन्त्रकै संरक्षकमा रक्सीको उत्पादन तथा तस्करी भइरहेको आरोप छ ।

छपराको मसरक बजारमा यतिबेला शोक छाएको छ । स्थानीय अस्पतालको बेडमा रक्सी सेवनकै कारण मृत्यु हुनेको संख्या एकपछि अर्को थपिँदै गएको छ । उपचारका लागि आउनेको क्रम रोकिएको छैन । मंगलबार मध्यरातिबाट बिरामी आउन सुरु भएको थियो । जुन अझै थामिएको छैन । पछिल्लो दुई दिनमा हरेक एक घण्टामा रक्सी सेवन गरेका व्यक्तिको अस्पतालमा मृत्यु भएको देखिएको छ ।

‘देशी शराब’ अर्थात् घरेलु प्रविधिबाट स्थानीय तहमा बनाइएका रक्सीको सेवनपछिको घटनाले त्यहाँको गरिब बस्ती पूरा शोकाकुल बनेको छ ।रक्सीको सेवन आफैंमा दण्डनीय अपराध रहेकाले कतिपय मानिस अस्पतालसमेत पुगेका छैनन् । स्थानीय प्रशासनले घरघर पुगेर बिरामीलाई अस्पताल ल्याउने कोसिस थालेको छ । प्रशासनले माइकिङ गरेर उपचारका लागि आउन आह्वान गर्दैछ ।

मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन भएका उक्त घटनाले रक्सीको उत्पादन कुनै एकै स्थानबाट भएको हुन सक्ने प्रशासनको अनुमान छ । प्रहरी प्रशासनले घटनाको छानबिनका क्रममा १ सय २६ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय प्रहरी चौकीका इन्चार्जलाई निलम्बन गरिएको छ। अहिलेसम्म उक्त विषालु रक्सी कहाँबाट आएको हो, खुल्न सकेको छैन ।

प्रतिक्रिया