

२१ वर्षे ‘भ्लगर’को कथाः ‘भेले’ साइकलदेखि ‘नयाँ कार’सम्मको यात्रा !

प्रिदेव जोशी । २१ वर्षे युवा, जसले करिब ३ वर्षअघि ‘भेले’ साइकलबाट आफ्नो रहर सुरू गर्यो र पछिल्लो समय कमाइ साथै गज्जब पहिचानसहित स्थापित हुँदैछ ‘भ्लगर’को रुपमा ।
सुरुवाती देखि नै आफ्ना दैनिक क्रियाकलाप मोबाइलबाट खिचेर ‘भ्लग’मा राख्न थाल्यो । बजार, अनि कलेज जाँदा आउँदा एउटा साइकल प्रयोग गर्दथ्यो, त्यसको नाम उसैले राखिदियो, ‘भेले साइकल’ ।
‘भेले साइकल’बाट सुरु गरेको यात्रा अहिले पछिल्लो समय ‘नयाँ कार’सम्म पुगेको छ । ब्याचलर दोस्रो वर्षमा पढ्ने उदयपुरको सामान्य परिवारमा जन्मिएको एक युवक अहिले कार चढेर हिँड्ने भएको छ, त्यो पनि आफ्नै कमाईबाट ।
सामाजिक सञ्जालको प्रयोगबाट बिग्रिने सन्देश गइरहेको समाजमा प्रिदेव भने उदाहरणीय बन्न पुगेको छ । आजको दिनसम्म ५ लाख ४१ हजार सब्स्क्राइबर्स रहिसकेका उसले दैनिक भिडियो राख्ने गरेको छ आजकल ।
उसको भिडियो पहिलोपटक हेर्नेका लागि सामान्य लाग्छ, र, हो पनि सामान्य नै । धेरै मानिसहरुले सामान्य विषयवस्तु नै मन पराउँछ भन्ने कुरा उसको भिडियोबाट थाहा पाउन सकिन्छ । कुनै बेला ‘बोलीमा लगाम लगाउन नसक्ने’ प्रिदेवको त्यही पक्ष नै आम मानिसले मन पराएका छन् । अहिले जहाँ जाँदा प्रायः सेलिब्रेटी नै बन्ने गरेको छ । उ कहिँ कतै जाँदाखेरी उसका फ्यानहरुले बाटो छेक्नु नयाँ होइन ।
उसको भिडियोमा प्रायः अटाइरहने पात्र हुन्– ‘क्षेत्रीनी आन्टी’ र सन्देश, ‘गोल्डी आन्टी’, छिमेकी मैयाँ र बास्तोला । अनि उसले हरेक भिडियोमा नछुटाउने शब्द हो–‘सुट्टा’, ‘गाँडगुलेती’ ।
२१ वर्षे युवाको भावना कति कोमल छ भन्ने कुरा कहिलेकाहिँ उसका भिडियोबाट थाहा हुन्छ । कुनै समस्यामा परेका वा दुःखीपीडित देख्यो भने सहयोग गरिहाल्छ । चाहे कहिँ कतै हिँडिरहेको बेला साइकलमा सामान बोक्ने ‘बोतल–कागज’ होस् वा खान नपाएर बसिरहेकी वृद्धा हुन् । उ अनुशासित पनि छ किनकी प्रायः उसले मार्ने गरेको ‘सुट्टा’ उसले भिडियोमा देखाउँदैन । जसले गर्दा समाजप्रति केही हदसम्म उत्तरदायी पनि देखाउँछ ।
उदयपुरको एक गाउँमा जन्मिएको प्रिदेव भेले साइकलबाट आफ्नो ‘भ्लग’को यात्रा सुरु गरेको थियो । कुनै पनि ठाउँमा उसले प्रयोग गर्ने शब्दहरुलाई रोक्न नसक्नु नै उसको सफलता हो जस्तो लाग्छ भिडियो हेर्नेहरुका लागि ।
उ बेलगाम दौडी रहेको छ आफ्नो यात्रामा । हरेक दिन एउटा भिडियो सामाग्री राख्ने गरेको छ पछिल्ला दिनमा । क्रिएसन र डेडिकेशन भन्ने कुरा छ भने हरेक मानिसले सफलता पाउन सक्छ भन्ने उदाहरण उसमा लागू हुन्छ । पढाईमा उ अब्बल होइन भन्ने कुरा उसले बेलाबखत आफ्नो अंग्रेजीको अवस्था बताउँदै गर्दा बताउँछ ।
आजभोली उ जहाँ जान्छ, सब्सक्राइबर्स भेटाउन थालेको छ । सामान्य विषयका साथै दैनिक जीवनमा मानिसले गर्ने क्रियाकलापलाई सबैले मन पराउँछन् भन्ने उदाहरण उसले पुष्टी गरिदिएको छ । कहिलेकाहिँ उसले बोल्ने शब्द अपाच्य लागे पनि त्यही शब्द नै उसको भिडियोको ‘मिठास’ जस्तो देखिन्छ ।
कहिलेकाहिँ उसले कमाईको कुरा गर्छ । एउटा भिडियोमा उसले कमाइको कुरा गर्दा मासिक करिब ७/८ लाख कमाउने बताएको थियो । तर, त्यो अहिले अझै बढेको पनि बताएको थियो ।
भर्खरै बजारमा आएको आईफोन–१४ पनि खरिद गरिसकेको उसले अहिले आईफोन–१३ बाट भिडियो गर्दै आएको बताउँछ । हरेक दिन इडिटिङ, भिडियो, कलेज । सबै भ्याइरहेको छ । बाउ-आमाले पनि खुल्ला छाडिदिएका छन् उसलाई ।
उसले गरेका क्रियाकलाप र खर्च हेर्दा कमाउँछ होला पनि जस्तो लाग्छ । करिब ८ लाख रुपैयाँ पर्ने ‘डर्ट’ बाइक, अर्को ‘यामाहा भि–३’, ‘बाउ’लाई किन्दिएको बाइक, ‘ममी’लाई कहिलेकाहिँ दिने गिफ्ट अनि यस्तै उस्तैले उसको कमाई राम्रै छ भन्ने पनि देखिन्छ । अहिले आफ्नै लागी भनेर किनेको टाटाको नेक्सन कार !
कुनै पनि मानिसमा लगन र परिश्रम भयो भने जीवन जिउनका लागि सरल र सहज बनाउन धेरै गाह्रो छैन भन्ने कुराको उदाहरण बनेका छन् प्रिदेव ।
पछिल्लो समय पढाईपछि विदेश भन्ने युवाहरुले मिहिनेत र नयाँ तरिकाबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो प्रिदेव । उ जहाँ जान्छ, त्यहाँ यसले मान्छे बनाउँछ, उ मान्दैन लाज अनि मान्दैन डर । हरेक भिडियोमा उसको आत्मविश्वास देखिएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्न सक्यो भने फाइदै हुन्छ भन्ने कुराको पुष्टी उसको ‘छलाङ’ले पुष्टी गर्छ ।

