

अध्यादेशविरुद्ध सडकमा आउने अनेरास्ववियुको चेतावनी

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले राष्ट्रपतिसमक्ष पेस गरेको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुनिता बरालले नयाँ जनादेश आइसकेको अवस्थामा बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताएकी हुन् ।
‘देश प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी नयाँ जनादेश प्राप्त संसद्को शपथग्रहण तथा प्रथम बैठकको सम्मुखमा उभिएको छ। यस्तो अवस्थामा निर्वाचन सम्पन्न गर्ने एक मात्र जिम्मेवारी प्राप्त कामचलाउ सरकारले २०७९ मङ्सिर २५ गते अपराधसंहिता संशोधन गर्ने गरी ल्याएको अध्यादेश प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
अनेरास्ववियुले जनविरोधी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । उनले अन्यथा अनेरास्ववियु जनविरोधी कामचलाउ सरकारको विरुद्ध कानुनी राज्य स्थापनाका लागि सडकमा आउने चेतावनी दिएकी छन् ।

