कार्ड देखाएर कीर्तिमान बनाएका रेफ्रीलाई फिफाले घर फर्कायो


काठमाडौं – विश्वकपमै सर्वाधिक १८ पहेँलो कार्ड देखाएर कार्डको कीर्तिमान बनाएका स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजलाई विश्व फुटबल महासङ्घ (फिफा) ले बाँकी खेलमा जिम्मेवारी नदिने भएको छ ।

कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाएका थिए ।

रेफ्री एन्टोनियोले उक्त खेलमा विवादास्पद निर्णय गरेको भन्दै विश्वभर रेफ्री एन्टोनियोको चर्को आलोचना भएको थियो । विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उनी स्पेन फर्किएका छन् ।

रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप जस्तो प्रतियोगिता खेलाउने रेफ्रीको विषयमा फिफाले ध्यान दिनु पर्ने बताएका थिए ।

‘विश्वकपमा खेलाउने रेफ्रीको भूमिका आज राम्रो थिएन। अतिरिक्त समयमा नजाने खेललाई त्यतिकै लगियो। अर्जेन्टिनाले हारोस् भन्ने मानसिकता रेफ्रीमा देखियो । फिफाले यसबारे आवश्यक कारबाही गर्न आवश्यक छ,’ मेस्सीले भनेका थिए ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सलाई डिबक्स छेउ फ्रिकिक दिएपछि त्यही फ्रिकिकमा गोल गर्दै नेदरल्यान्ड्सले खेललाई २–२ गोलको बराबरी ल्याएको थियो । त्यसपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो । यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया