‘चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिँदा दुर्घटना हुन सक्छ’


बेइजिङ – चीनलाई अमेरिकाको रणनीतिक प्रतिस्पर्धीका रूपमा लिनु गलत हुने र यसो गर्दा गल्ती हुन सक्ने अमेरिकाका लागि चीनका राजदूतले एक अन्लाइन फोरममा सम्बोधन गर्ने क्रममा बताएका छन् ।

ट्रम्प प्रशासनले सन् २०१८ मा चीनलाई रणनीतिक प्रतिस्पर्धीका रूपमा परिभाषित गरेदेखि दुई देशबीच व्यापारदेखि लिएर कोरोना भाइरस सम्मका विषयमा बाझाबाझ हुने गरेको छ । जो बाइडन प्रशासनले पनि चीनमाथि दबाब दिइरहन सक्ने अपेक्षा छ ।

राजदूत सुई थ्याँकाईले अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व खोज्ने चीनको दीर्घकालीन नीति रहेको बताए अनि चीनको रेडलाइन पार नगर्न पनि अमेरिकालाई चेतावनी दिए ।

‘चीनलाई रणनीतिक प्रतिस्पर्धी र काल्पनिक शत्रुका रूपमा लिनु ठूलो रणनीतिक भूल हुनेछ,’ सुईले बिहीवार बताए । ‘त्यसलाई आधार बनाएर कुनै पनि नीति बनाउँदा गम्भीर रणनीतिक भूल हुनेछ ।’

चीनले भिडन्त नभई सहकार्य चाहेकोमा सुईले जोड दिए र दुवै पक्षलाई संवादमार्फत भिन्नताहरूको सम्बोधन गर्न आग्रह गरे । तर चीनले सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताका विषयमा आत्मसमर्पण नगर्ने उनको भनाइ छ ।

‘चीन पछि हट्ने छैन । अमेरिकाले चीनको हितलाई सम्मान गर्ने र रेडलाइन पार नगर्ने आशा हामीले गरेका छौं,’ सुईले बताए ।

हङकङ, सिनकियाङ, दक्षिण चीन सागर र ताइवानका विषयमा चीन र अमेरिकाबीच विवाद छ । एजेन्सी

प्रतिक्रिया