नेपालमा निरन्तर भ्रष्टाचार बढिरहेकाे छ : ट्रान्सपरेन्सी इन्टरनेशनल


काठमाडाैं – ट्रान्सपरेन्सी इन्टरनेशनलले पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको जनाएको छ । बिहीबार विश्वभरीका १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको रिपोर्ट सार्वजनिक गर्दै उसले नेपालमा भ्रष्टाचार बढेको जनाएको छ ।

सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआइ) रिपोर्टअनुसार नेपाल एक सय १७ स्थानमा धकेलिएको छ । गत वर्ष एक सय १३ स्थानमा थियो । गत वर्ष नेपालले एक सयमा ३४ अंक प्राप्त गरेकोमा यो वर्ष ३३ अंक मात्र प्राप्त गरेको छ । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ ।

‘सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारी माथी कारवाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु जस्ता समस्या कायमै रहेको सन्देश दिएको छ,’ ट्रान्सपरेन्सीले भनेको छ ।

विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भीडीइएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको हो । रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख छ ।

प्रतिक्रिया