रोनाल्डोबिनाको पोर्चुगल स्वीट्जरल्याण्डमाथि निष्ठुरी बनेपछि…


काठमाडौं – क्वार्टरफाइनल प्रवेशका लागि कप्तान एवं स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रिएको पोर्चुगल स्वीट्जरल्याण्डमाथि निष्ठुरी हुँदै आधा दर्जन गोल गरेको छ ।

प्रिक्वाटरफाइनल जस्तो महत्वपूर्ण खेलमा नियमित कप्तानलाई बेन्चमा राख्दै पेपेको कप्तानीमा उत्रिएको टिमले स्वीट्जरल्याण्डमाथि ६ गोल गर्दै आफूलाई विश्वकप उपाधिको प्रमुख दाबेदारका रुपमा प्रस्तुत गरेको छ ।

रोनाल्डोलाई बेन्चमा राख्दै प्रशिक्षक फर्नान्डो सान्तोषले आफू टिममाथि पूर्ण विश्वस्त रहेको प्रमाणित गरेका थिए ।

पहिलो हाफमा नै २–० ले अग्रता लिएको पोर्चुगल दोस्रो हाफमा झन् आक्रामक बन्दै चारमिनेट भित्र २ गोल गरेको थियो । पोर्चुगलले खेलको ५१ र ५५ औं मिनेटमा गोल गर्दै ४–० ले अग्रता लिइसकेको अवस्थामा स्वीटरल्याण्डले ५८ औं मिनेटमा १ गोल फर्काएको थियो ।

त्यसपछि २१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा पहिलो ह्याट्रिक गर्ने क्रममा ७१ औं मिनेटमा गोल गरे । उनको यो गोलसँगै जारी विश्वकपमा भएको पहिलो ह्याट्रिक सम्भव भयो । पोर्चुगलका लागि राफे लिआयो, राफेल गुरेइरो र पेपेले बाँकी ३ गोल गरेका थिए ।

त्यसपछि पोर्चुगलले इन्जुरी समयमा थप १ गोल गर्दै यसै विश्वकपमा फराकिलो जित हात पार्ने दोस्रो खेलाडी बन्यो । यसअघि समूहचरणको पहिलो खेलमा इङ्ल्याण्ड पनि ६–१ ले नै विजयी भएको थियो ।

यस जितसँगै पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्को पूर्व विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरिसकेको थियो ।

पोर्चुगलसँगको फराकिलो हारपछि स्वीट्जरल्याण्ड भने अन्तिम-१६ बाटै घर फर्किएको छ ।

प्रतिक्रिया