


मेलम्चीको पानी सुन्दरीजलमा, दैनिक १७ करोड लिटर वितरण हुने

काठमाडौं – वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी आज काठमाडौंको सुन्दरीजलमा आइपुगेको छ ।
सुरूङमा पथान्तरण गरिएको एक हप्तापछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको जानकारी मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले दिए । मेलम्चीबाट सोमबार मात्रै पानी सुरुङमा पठाइएको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘निर्धारित समयमा नै वितरणको लागि पठाइनेछ। अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिनासम्म खानेपानी आपूर्ति हुनेछ।’ यसैगरी,आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले पानी अहिले सुन्दरीजल आइरहेको बताए ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया तत्काल कार्यान्वयनका लागि अगाडि बढिरहेको समेत जानकारी दिइएको छ ।
वि. सं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म काठमाडौंमा पानी वितरण गरिएको थियो ।

