मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाको जित, म्याराडोनाको रेकर्डसँग बराबर


काठमाडौं- कप्तान लियोनल मेसी चम्किँदा अर्जेन्टिनाले फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै अन्तिम–१६ को सम्भावनालाई कायम राखेको छ । मेक्सिकोविरुद्ध प्रेरणादायी प्रदर्शन गरेका मेसीले खेलमा एक गोल र एउटा असिस्ट गरे ।

कतारको लुसैल रंगशालामा शनिबार मेसीले ६३ औँ मिनेटमा गरेको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मेसीले बक्स बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो । यो गोलसँगै मेसीले विश्वकपमा म्याराडोनाले गरेको गोलसँग बराबरी गरेका छन् । मेसीले विश्वकपमा म्याराडोनाले गरेको ८ गोलसँग बराबरी गरेका हुन् ।

यस्तै, खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा परिवर्तित खेलाडी इन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाले २–० को जित पक्का गर्‍यो । रोड्रीगो डी पाउलको सट कर्नर पासमा मेसीले बक्सभित्र रहेका इन्जोलाई बल मिलाउँदा इन्जोले सानदार गोल गरे ।

इन्जो ५७ औँ मिनेटमा गुइडो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै दुई खेलबाट तीन अंक जोडेको अर्जेन्टिना समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ ।

अर्जेन्टिना यसअघि पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित हुँदा मेक्सिको पोल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया