यी हुन् उपत्यकाबाट संसद् छिर्ने टुंगो लागेका १५ सांसद

निर्वाचित १५ मध्ये ५ जना निवर्तमानसमेत सांसद हुन् भने १० जना यस प्रतिनिधिसभामा नयाँ अनुहार


काठमाडौं – निर्वाचन मतगणनाको मध्यतिर पुग्दै गर्दा उपत्यकाको सबै निर्वाचन क्षेत्रको प्रतिनिधिको टुंगो लागिसकेको छ ।

उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ७ स्थानमा जित हात पार्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हात पारेको छ ।

त्यस्तै नेकपा एमालेले २ क्षेत्रमा जित हात पार्दा भक्तपुरको ‘रैथाने’ दल नेपाल मजदुर किसान पार्टीले १ स्थानमा जित हात पारेको छ ।

पछिल्लोपटक भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जित हात पारेसँगै उपत्यकाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको टुंगो लागेको हो ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ५ स्थानमा जित हात पार्दा ४ स्थानमा रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित हात पारेको छ भने एक स्थानमा नेकपा एमालेका उम्मेदवारले जित हात पारेका छन् ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा क्रमशः  १ देखि १० सम्ममा नेपाली कांग्रेसका प्रकाशमान सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, नेपाली कांग्रेसका सन्तोष चालिसे, नेपाली कांग्रेसका गगनकुमार थापा, नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ, नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र नेपाली कांग्रेसका राजेन्द्र केसीले जित हात पारेका छन् ।

त्यस्तै ललितपुर जिल्लाका तीन क्षेत्रमा तीन राजनीतिक दलका नेताले जित हात पारेका छन् । ललितपुर १ मा उदयशमशेर राणाले नेपाली कांग्रेसबाट जित हात पारेका छन् भने क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमलाल महर्जन विजयी भएका छन् । त्यस्तै ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले माओवादी उपमहासचिव एवं बहालवाला मन्त्री पम्फा भुषाललाई तेस्रो स्थानमा पु¥याउँदै जित हात पारेकी छिन् । ललितपुर – १ मा नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान सांसद नवराज सिलवाल राणासँग पराजित भएका हुन् ।

त्यस्तै भक्तपुर क्षेत्र नं. १ मा भने रैथाने दल नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले जित हात पार्दा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले जित हात पारेका छन् । भक्तपुर २ मा नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री एवं निवर्तमान सांसद महेश बस्नेत पराजित भएका हुन् ।

उपत्यकाबाट निर्वाचन जितेका १५ मध्ये ५ जना निवर्तमानसमेत सांसद हुन् भने १० जना प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । तर ती मध्येका एकजना निवर्तमान प्रदेश सभा सदस्य रहेका हुन् ।

प्रकाशमान सिंह, गगन थापा, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र केसी र प्रेम सुवाल निवर्तमान सांसद हुन् भने विराजभक्त श्रेष्ठ यसअघि बागमती प्रदेशसभा सदस्य हुन् ।

त्यस्तै सोविता गौतम, सन्तोष चालिसे, प्रदीप पौडेल, शिशिर खनाल, गणेश पराजुली, उदयशमशेर राणा, प्रेमलाल महर्जन, तोसिमा कार्की र दुर्लभ थापा प्रतिनिधिसभाका लागि यसपटकका नयाँ अनुहार हुन् । यद्यपि उदयशमशेर राणा एकपटक सांसद बनिसकेका अनुहार हुन् ।

प्रतिक्रिया