

केपी ओलीको हातमा मुलुक सुम्पन हुन्न, डुब्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा मुलुक सुम्पिन नहुने बताएका छन्।
काठमाडौंको कोटेश्वरमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले गफ मात्रै गर्ने काम नगर्ने बताउदै ओलीलाई गफाडी संज्ञा दिए । ‘जनताको घर(घरमा ग्यासको पाइप र रेल ल्याउँछु भनेर हावादारी कुरा गर्ने गफाडीहरू यो मुलुकको प्रधानमन्त्री बन्न पुगे। यो पटक पनि गफाडीको कम्पनीलाई मौका दिइयो भने मुलुक डुब्छ,’ अध्यक्ष नेपालले भने।
सत्ता गठबन्धन संविधान रक्षा र समृद्धिका लागि बनेको उनले बताए। मुलुकको समृद्धिका लागि सत्ता गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका थिए।
‘व्यवस्था उल्ट्याउन राजावादीसँग साँठगाँठ गर्ने गठबन्धनलाई पराजित गर्दै सत्ता गठबन्धनलाई विजय गराउन म आग्रह गर्दछु,’ उनले भने।
प्रत्यक्ष निर्वाचनमा गठबन्धनका दलबीच मत ट्रान्सफर हुँदा नै गठबन्धन आगामी दिनमा बलियो हुने उनले बताए।
काठमाडौँ २ की उम्मेदवार ओनसरी घर्तीसहित गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन उनले आग्रह गरेका थिए।

