

राजन भट्टराईले किन लुकाए सभासद् भएको तथ्य ?

काठमाडौं – नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले संविधान सभा सदस्य भएको तथ्यलाई रहस्यमय तरिकाले लुकाएका छन् ।
उम्मेदवार भएर मतदाताका लागि वितरण गर्न तयार पारिएका कुनै पनि प्रकाशनमा भट्टराईले आफू २०७० सालमा संविधानसभा सदस्य भएको विषयलाई खुलाएका छैनन् ।
समानुपातिक तर्फबाट एमालेको सभासद् भएका भट्टराईले गौरव गर्नुपर्ने विषयलाई नै लुकाएपछि उनीप्रति थप अविश्वास बढेको स्थानीय बासिन्दाको भनाई छ । संविधान निर्माताको भूमिकालाई लुकाउनुले कतै उनी संविधान विरोधी त होइनन् भन्ने आशंका पनि उब्जिएको उनीहरुले बताएका छन् ।
‘उहाँले आफ्नो चुनावी सामग्रीहरु हाम्रो घरमा भोट माग्न आउने क्रममा हामीलाई पनि दिनु भएको थियो, उहाँले छापेका कुनै पनि पुस्तीका तथा प्रचार सामग्रीमा उहाँ एक पटक सभासद् भइसकेको विषय उल्लेख गरिएको छैन,’ कपन निवासी छिरिङ लामाले भने । सभासद् भएर आफूले देखाउनलायक काम केही नगरेकाले डा. भट्टराईले सभासद् भएको विषयलाई लुकाएको हुन सक्ने लामाको अनुमान छ ।
त्यसैगरी संविधान निर्माणमा पनि देखिने र सम्झन लायक भूमिका भट्टराईले खेलेको आफुलाई याद नभएको लामाले बताए । जिम्मेवारी पाउँदा केही नगरेको भन्दै मतदाताले प्रश्न गर्ने डरले उनले सभासद् भएको विषयलाई लुकाएको स्थानीयको दावी छ ।
भट्टराईका प्रतिस्पर्धी गगनकुमार थापा भने त्यही कार्यकालमा झण्डै १८७ पटक संसदमा बोलेका थिए । भट्टराई समानुपातिकबाट सभासद भएका बेला थापा भने वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुनलाई पराजित गरी प्रत्यक्ष तर्फबाट सभासद् भएका थिए । उनले संविधानका दर्जनौ विषयमा राय र अडान राख्ने गरेका थिए ।
भट्टराई उनै थापासँग अघिल्लो आम निर्वाचनमा झण्डै ३५ सय मत अन्तरले पराजित भएका थिए । त्यतिबेला भट्टराई गठवन्धनको साझा उम्मेदवार हुदा पनि थापाले जितेका थिए भने अहिले थापा नै सत्तारुढ गठवन्धनको साझा उम्मेदवार भएकाले भट्टराईलाई अहिले थप कठिन देखिएको छ ।

