

दसैँ तिहारमा मात्रै एक करोडको तेह्रथुमे ढाका कपडा बिक्री

तेह्रथुम – दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो ।
यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताइन् । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताइन् ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहारस्वरूप ढाकाका सामग्री दिने चलन बढेपछि ढाका कपडाको कारोबार उच्च भएको हो । जिल्लामा सञ्चालन भइरहेका साना–ठूला गरी करिब तीन दर्जन ढाका कपडा उद्योग र व्यपारीले दसैँ तिहारको अवसरमा रु एक लाखदेखि १० लाखसम्मको कारोबार गरेका छन् ।
दसैँ तिहारमा ढाकाको टोपी र पछ्यौराको बिक्री धेरै भएको छ । एउटा टोपी रु पाँच सयदेखि २५ हजार सम्ममा बिक्री भएको छ । यसैगरी एउटा पछ्यौरा रु एक हजारदेखि पाँच हजारसम्ममा बिक्री भएको छ । जिल्लाका ढाका उद्योगले टोपी पछ्यौरा, सर्ट, टाई, रुमाल, चौबन्दी, टोपी, ब्लाउज, साडी, तन्ना, पर्दा, फेटा, थैली, झोला, पर्स, गलबन्दी, सलवार, चोलो, जुत्ता, चपल, बेल्टलगायत आकर्षक सामग्री उत्पादन गर्ने गरेका छन् ।
हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हेर्दा आकर्षण देखिने भएकाले तिहारका लागि ढाका कपडा किन्न उर्लाबारीबाट आएकी श्यामकला भट्टराईले बताइन् ।
घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा दर्ता भएका एक हजार एक सय ८१ उद्योगमध्ये एक सय ३५ उद्योगले ढाका कपडा दर्ता गरेका उद्योग विकास अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

