प्रचण्डद्वारा शिलान्यास गरिएको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जादैँ


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न आज सोमबार प्रधानमन्त्री ओली दाङ जाने भएका हुन् ।

तत्काली प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् । पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।

झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाने भएका हुन् । पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा जनसभाको आयोजना गरिएको छ । यो जनसभामा ५० हजार जनता तथा पार्टीका कार्यकर्ता उतार्ने योजना बनाइएको छ ।

प्रतिक्रिया