

फिफा डिप्लोमा कोर्षमा नेपालबाट न्यौपाने छनोट

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली रिपोर्टिङ इलाम एफसी डेमेचीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पियुषबहादुर न्यौपाने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सञ्चालन गरेको क्लब म्यानेजमेन्टको डिप्लोमा कोर्षमा छनोट भएका छन् ।
विश्वभरबाट ४० जना मात्र सहभागी हुने यस कोर्षमा विश्व फुटबलमा नाम चलेका जुआन माटा, जोन टेरी, टिम काहिल, फर्नान्डिन्हो, कार्ली लोयड, लगायत खेलाडी पनि सहभागी छन् । फिफाले सहभागीमाझ एक आपसमा अनुभव आदानप्रदानसँगै फुटबलमा सन्तुलित वातावरण निर्माण गर्न यस कोर्षले सहयोग पुर्याउने विश्वास राखेको छ ।
यस कोर्षमा नेतृत्व र व्यवस्थापनसँगै खेल रणनीति, युथ एकेडेमी लगायत विषयमा अध्यापन गराइने उल्लेख गरिएको छ । १६ महिना चल्ने यस कोर्ष पूरा गर्न सहभागीले सात राष्ट्रको यात्रा गर्नेछन् । अमेरिकाको न्यूयोर्कमा पहिलो मोड्युल समाप्त भइसकेको छ ।
अब कोर्षको अर्को मोड्युल कतारमा र त्यसपछि जापान, ब्राजिल, इजिप्ट र स्पेनमा हुनेछ । कोर्षकोसमापन भनेस्विटजरल्यान्डस्थित फिफा मुख्यालयमा हुनेछ । विश्वभरका क्लब अफिसियल मध्यबाट आवेदनमार्फत विभिन्न चरणकोछनोटपछि अन्तिम ४० जनाको नाम कोर्षमा छानिएको हो ।
झन्डै चार सय जनाको आवेदन र तीन महिनाको छनोट प्रक्रिया पार गरेर नेपालको प्रतिनिधित्व गर्न पाउँदा न्यौपानेले खुसी व्यक्त गरे । ‘फिफाको प्रतिष्ठित कोर्षमा अवसर पाउनु खुसीको विषय हो । विश्व फुटबलका ठूला नामसँग अध्ययन गर्दाको अनुभव सङाल्न आतुर छु । त्यहाँ पढे लेखेको कुरालाई नेपाली फुटबलमा प्रयोग गर्नेछु,’ न्यौपानेले भने ।
फिफा क्लब म्यानेजमेन्ट डिप्लोमा कोर्षको यो दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करणमा फाबियो कानाभारो, नुनो गोमेस, कार्लोस बोकानेग्रा, फिलिपे सेन्डेरस लगायत ४० जनाले कोर्ष पूरा गरेका थिए । न्यौपाने अफिसिअल लिभरपुल सपोर्टर्स क्लब नेपालका (ओएसएलसी) संस्थापक पनि हुन् । नेपालमा सन् २००७ मा ओएसएलसीको स्थापना भएको थियो ।

