तिहारमा मात्रै ३४ करोड रुपैयाँकाे फूलमाला खपत, गत वर्ष भन्दा ८३ प्रतिशत बढी


काठमाडौं – गत वर्षको तुलनामा यस वर्षको तिहारमा ८३.२० प्रतिशत बढी फूल माला खपत भएको छ ।

गत वर्षको तिहारमा १९ लाख ३५ हजार वटा माला खपत हुँदा यस वर्ष ३५ लाख ४५ हजार वटा फूलका माला खपत भएको नेपाल फ्लोरीकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ ।

फ्यानले यस वर्ष २४ लाख २५ हजार वटा फूलका माला खपत हुने अनुमान गरेको थियो । देशभर ३४ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको मखमली, सयपत्री र गोदावरी फूलका माला खपत भएको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार ४ करोड ९५ लाख रुपैयाँ बराबरका ९ लाख वटा सयपत्री फूलका माला आयात भएको छ । यस्तै ४५ लाख रुपैयाँ बराबरको १ लाख वटा मखमली माला निर्यात भएको फ्यानका अध्यक्ष मिनबहादुर लामाले बताए । गत वर्षको तुलनामा माग बढी भएकोले फूलका माला धेरै खपत भएको लामाकाे भनाइ छ ।

‘गएको वर्षको तुलनामा माग बढ्यो । यसपटक मौसमले पनि साथ दिएन । दसैंको बीचमा पानी पर्दा तराई क्षेत्रमा डुबान भयो । त्यहाँका फूलहरु नष्ट भयो,’ उनले भने । यस वर्ष तिहारमा ३ लाख २५ हजार वटा मखमली माला, गाेदावरी २० हजार र सयपत्रीका ३१ लाख वटा माला खपत भएकाे फ्यानले जनाएकाे छ ।

प्रतिक्रिया