
आयोगको निर्णयविरुद्ध अदालत जाँदै कार्की
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले अदालतको ढोका ढकढक्याउने भएकी छन् । सोमबार ११ बजे आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी हुन् ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो।
सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण कागजातहरू पठाएको थियो । बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।



कागजपत्र |
