प्रदीप पौडेलले विज्ञसँग थाले ‘बीसिडी’ मोडल कार्यान्वयन गर्न छलफल


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारसहित विज्ञसँग आफूले अघि सारेको ‘बीसीडी’ मोडलका विषयमा आइतबार छलफल अघि बढाएका छन् ।

काठमाडौं क्षेत्र नम्वर ५ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेता पौडेलले निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ अर्थात ब्रेन ड्रेन लहर रोक्ने, करप्सन नियन्त्रण गर्ने र विकासको अभियान चलाउने गरी नयाँ मोडल सार्वजनिक गरेका थिए ।

बीसीडी मोडललाई कार्यान्वयन गर्न आइतबार पौडेलले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्ले, आयोगका पूर्वउपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व सदस्य डा. अरबिन्दकुमार मिश्र, राजनीतिक विश्लेषकद्वय पुरञ्जन आचार्य तथा गेजा शर्मा वाग्ले लगायतसँग छलफल गरेका हुन् ।

उम्मेदवार पौडेलसँग नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिको सदस्यको रुपमा समेत काम गरिसकेका डा. वाग्ले र डा. पोखरेलले भेटघाटका क्रममा काठमाडौं क्षेत्र नमवर पाँचको समग्र विकास र बीसिडी मोडलको कार्यान्वयनका विषयमा सुझाव दिएका थिए ।

नेता पौडेलले ब्रेन ड्रेनका समस्या समाधान, भ्रष्ट्राचार नियन्त्रण र विकासको कुरालाई मुख्य एजेण्डा बनाएर चुनावी प्रचारमा लागेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनको प्रचारमा लागेका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन् ।

पौडेलले आफूले अघि सारेको योजनालाई सुरुमा काठमाडौं–५, त्यसपछि काठमाडौं र देशैभरी लागू गर्ने योजनामा रहेका बताए । उनले भेटघाटका क्रममा समग्र निर्वाचनको विषयमा समेत छलफल गरेका थिए । नेता पौडेलले अघि सारेको बीसिडी मोडल नयाँ विकास मोडल हुनसक्ने विज्ञहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया