

‘को आधिकारिक नेकपा हो, सडकमा आएर हेर्नुस्’

काठमाडौं – पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताएका हुन् । खनालले केपी ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने र जनता सडकबाट फिर्ता नहुने बताएका छन् ।
‘केपी ओली प्रतिगनकारी र कम्युनिस्ट आन्दोलनका घातक तत्त्व हुन्’, खनालले भने, ‘जबसम्म प्रतिगमन सच्चिदैन, केपी ओलीले घुँडा टेक्दैनन् तबसम्म आन्दोलन रोकिँदैन ।’ उनले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई उनले राजनीतिक कदम भनेपनि त्यो घटना राजनीतिक हुनै नसक्ने दावी गरेका छन् । ओलीले बालुवाटारमा बसेर बालुवाटारकै समुह नेकपा आधिकारिक पार्टी भन्ने गरेको भन्दै खनालले एक पटक सडकमा आएर हेर्न आग्रह गरे ।
‘म केपी ओलीलाई सडकमा आएर हेर्न आग्रह गर्छु । कुन पार्टी आधिकारिक हो भन्ने कुरा,’ उनले भने, ‘संसदको पुर्नस्थापनाको विकल्प छैन् ।’ ‘यो निर्वाचन आयोग हुकुमी शासनले बनाएको होइन । यो त संविधानले बनाएको आयोग हो । यसले सविधान र विधान अनुसार निर्णय गर्छ’, खनालको भनाइ छ ।
उनले निर्वाचन आयोगले पनि प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको नेकपालाई नै आधिकारिकता दिनेमा दुईमत नरहेको बताए ।

