मनास्लु हिमपहिरोमा परेका २ जनालाई काठमाडौं ल्याइयो


काठमाडौं – गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा परेकाहरुलाई उद्धार गर्न सुरु गरिएको छ। आइतबार दिनभरको मौसम प्रतिकुल रहेकाले प्रभावित भएको खोजीकार्य अपराह्न मौसम केही सफा भएपछि सुरु गरिएको थियो ।

गोरखाका प्रहरी उपरीक्षक केदार खनालले हिमपहिरोमा परेकामध्ये २ जनाको उद्धार गरी काठमाडौं पठाइएको जानकारी दिएका छन् ।

कैलास एयरको हेलिकप्टरबाट उद्धार गरिएका दुई जनालाई काठमाडौंको कपनस्थित एक अस्पताल लगिएको उनले बताए । थप दुई जनालाई हिमपहिरोस्थलबाट तल ल्याइएको पनि उनले बताए ।

एसपी खनालले पहिरोमा परेका अन्य व्यक्तिहरुको उद्धारकार्य अगाडि बढाइएको बताए । तर, मौसम पूर्णरुपमा सफा नहुँदा उद्धारमा समस्या आएको उनको भनाई छ ।

सोमबार बिहानमनास्लुको तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविर जाँदै गरेका आरोहीका सहयोगी हिउँ पहिरोमा परेका थिए।

प्रतिक्रिया