मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेको गृहमन्त्रीको जोड


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्।

रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए। ‘संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन,’ उनले भने।

गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे। लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको चर्चा गर्दै उनले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताउनुभयो । ‘नागरिकता नहुँदा एउटा सिमकार्ड किन्नसमेत समस्या सिर्जना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?,’ उनले प्रश्न गरे।

मन र मस्तिष्क जोडेर काम गर्नसके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उनले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कनसमेत गर्न आग्रह गरे।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे। आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सहीदिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गरे। आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सुशासन आफैँमा राम्रो शब्द भए पनि विश्लेषकले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताए।

प्रतिक्रिया