
सरकारी कोटामा बेलायत जान चाहने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय
काठमाडौं – नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो। श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य कुनै एजेन्सीको भूमिका नहुने भन्दै कसैले प्रलोभनमा पारेर पैसा असुल्न खोजे उजुरी गर्न भनेका छन्।
‘सम्झौता कार्यान्वयनमा आउनुअघि नै विभिन्न प्रलोभनमा पैसा असुल्न खोजेको सुनेका छौं, त्यो गैरकानुनी हो। कसैले बेलायतको सरकारी कोटामा पठाइदिने भनेर पैसा लिन खोजेमा त्यो सरासर ठगी हो,’ कुँवरले भने।
श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलले सम्झौता कार्यान्वयनका निम्ति कार्यविधि बनाउने प्रक्रिया भइरहेको बताए। यसमा तेस्रो पक्षको संलग्नता नहुने भन्दै कसैले पैसा लिन खोजे तुरून्तै विभागमा उजुरी दिन अनुरोध गरे।
‘बेलायतको सरकारी सेवामा जान चाहने जनशक्तिका लागि निश्चित प्रक्रियाहरू छन्। उनीहरूले अंग्रेजी भाषाको परीक्षा पास गरेको प्रमाणपत्र र शैक्षिक योग्यताका साथै कामको अनुभवका प्रमाणपत्र पेश गरेपछि दुबै पक्षका सरकारी प्रतिनिधि बसेर छनौट गर्ने हो। यसमा निजी कम्पनी वा एजेन्सी कसैको पनि भूमिका हुँदैन। कसैले पैसा लिन खोजे विभाग पुगेर वा प्रहरीसमक्ष ठगी मुद्दा दर्ता गर्नुस्,’ पोखरेलले भने



कागजपत्र |
