

भारत्तोलनका पूर्व खेलाडी कार्कीको निधन

काठमाडौं – भारत्तोलनका पूर्व खेलाडी रुप कार्कीको निधन भएको छ । खेल प्रशिक्षणको लागि बुटवल बस्दै आएका कार्कीलाई हृदयघात भएपछि उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा बाटोमै उनको निधन भएको हो ।
अमेरकाको भर्जिनियामा बस्दै आएका कार्की खेल प्रशिक्षणको शिलशिलामा तीन महिना अघि नेपाल आएका थिए । ५२ वर्षीय कार्की गत अक्टोबरमा आफूले प्राप्त गरेको शीप अनुभव लिदै मातृभूमिलाई योगदान गर्ने दृढ संकल्प सहित नेपाल गएका थिए ।
कार्की कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड खेलाडी थिए । कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा लागेका थिए । थुप्रै पदक प्राप्त गरेका कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जितेका थिए ।
सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा उनी छनौट भएका थिए । भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
खेलकूदबाट पटकपटक विश्वमा नेपालको नाम चिनाएकोमा पत्रकारहरुको संस्था इन्जाले गतसाल एक समारोहका वीच उहांलाई सम्मान गरेको थियो ।

