
समानुपातिकको बन्दसूचीमा कुन क्लस्टरबाट पुरुष र महिला कति ?
काठमाडौं – आगामी मंसिर ४ गते हुने निर्वाचनमा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको बन्दसूची साेमबार निर्वाचन आयोगमा बुझाएका छन् ।
प्रमुख राजनीतिक दलहरुले सोमबार बुझाएको बन्दसूचीमा संघीय संसदको प्रतिनिधि सभातर्फ ६ वटा क्लस्टरबाट महिला, पिछडिएको क्षेत्र र अल्पसख्यकको समेत प्रतिनिधित्व हुने गरी ११० जनाको नाम समावेस गरेर बुझाएका छन् ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, नेकपा (एकीकृत समाजबादी) जस्ता दलहरुले सबै ११० जनाकै नाम समावेस गरेको जनाएका छन् ।
जसअनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ आदिवासी–जनजाति क्लस्टरबाट १६ पुरुष र १६ महिला, खसआर्यबाट १७ पुरुष र १७ महिला, थारुबाट ३ पुरुष ४ महिला, दलितबाट ७ पुरुष ८ महिला, मधेशीबाट ८ पुरुष ९ महिला तथा मुश्लिम क्लस्टरबाट २ पुरुष ३ महिलाको नाम समावेस गरेका छन् ।
यसरी बन्दसूची आयोगमा बुझाउँदा समानुपातिकतर्फ ५३ जना मात्र पुरुष र ५७ महिलाको नाम समावेस गर्नु पर्छ । यसो गर्दा पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व हुने गरी ५ जनालाई समेटेको हुनु पर्ने छ । यदी दलहरुले पेश गरेको बन्दसूचीमा क्लस्टर अनुसार अनुपात नमिलेमा आयोगले सच्याउने असोज १६ गतेसम्म समय निर्धारण गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने प्रदेश सभाको सदस्यतर्फ भने प्रदेश अनुसार फरक फरक हुने गरेको छ ।
प्रदेश नम्वर १
यो प्रदेशबाट प्रदेश सभा सदस्यमा अल्पसंख्यक ६ जनासहित जम्मा ३७ जनाको नाम बन्दसूचीमा समावेस गरेको हुनु पर्छ । यो प्रदेशमा आदिवासी–जनजाति क्लस्टरबाट ८ पुरुष र ९ महिला गरी १७ जना, खसआर्यबाट ५–५ जना पुरुष र महिला, थारुबाट १ –१ पुरुष र महिला, दलितबाट २–२ पुरुष र महिला, मधेशीबाट १ पुरुष र एक महिला र मुश्लिम १ जनाको नाम समावेस गरिएको छ ।
मधेश प्रदेश
यो प्रदेशमा ११ जना अल्पसंख्यक र १ जना पिछडिएको क्षेत्र गरी ४३ जनाको नाम बन्दसूचीमा समावेस गर्नु पर्छ । जसमा २० पुरुषको नाम समाबेस गरे पनि महिलाहरु भने २३ जनाको नाम बन्द सूचीमा राख्नु पर्छ ।
आयोगका अनुसार मधेश प्रदेशमा बन्दसूची पेश गर्दा आदिवासी–जनजातिबाट १ पुरुष २ महिला, खसआर्यबाट १ –१ जना पुरुष र महिला, थारुबाट १ –१ जना पुरुष र महिला, दलितबाट ३ पुरुष र ४ महिला, मधेशीबाट १२ पुरुष र १२ महिला तथा मुश्लिम क्लस्टरबाट २ पुरष र ३ महिलाको नाम समावेस गरिएको हुनु पर्छ ।
बागमति प्रदेश
यो प्रदेशमा अल्पसंख्यक ३ जना सहित ४४ जना उम्मेदवारको नाम आयोगमा पेश गरेको हुनु पर्नेछ । सबैभन्दा बढी प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा आदिबासी–जनजातिबाट ११ पुरुष र १२ महिला, खसआर्यबाट ८ पु्रुष र ८ महिला, थारुबाट १ जना मात्र, दलितबाट १ पुरुष र २ महिला र मधेशीबाट १ जनाको नाम समाबेस गर्नु पर्छ ।
गण्डकी प्रदेश
यो प्रदेशमा मधेशी, थारु र मुश्लिम समुदायको क्लस्टरबाट प्रतिनिधित्व छैन । एक अल्पसंख्यकसहित २४ जना समानुपातिक उम्मेदवारको नाम बन्द सूचीमा राखिएको हुनु पर्छ । यो प्रदेशमा आदिबासी–जनजातिबाट ५ पुरुष र ६ महिला, खसआर्यबाट ४ पुरुष ५ महिला र दलित क्लस्टरबाट २ पुरुष २ महिलाको नाम बन्दसूचीमा राखेको हुनु पर्छ ।
लुम्बिनी प्रदेश
पुरुष १५ र महिला २० जना गरी ३५ प्रदेश सभा सदस्य रहने यो प्रदेशमा समानुपातिकतर्फ सबै सिटमा उम्मेदवार उठाउने दलले ३ जना अल्पसख्यकको नाम पनि बन्दसूचीमा राख्नु पर्छ ।
लुम्बिनीमा आदिबासी–जनजातिबाट ३ पुरुष ४ महिला, खसआर्यबाट ५–५ जना पुरुष र महिला, थारुबाट २ पुरुष ३ महिला, दलितबाट पनि २ पुरुष ३ महिला र मुश्लिमबाट एक पुरुष र २ महिलाको नाम बन्दसूचिमा राखिनु पर्छ ।
कर्णाली प्रदेश
यो प्रदेशको प्रदेश सभातर्फ पिछडिएको क्षेत्रका ५ जनासहित ८ पुरुष र ८ महिलाको नाम बन्दसूचीमा राख्नु पर्छ । जसअनुसार आदिबासी जनजातिबाट १ –१ जना पुरुष र महिला, खसआर्यबाट ५–५ जना पुरुष र महिला र दलित क्लस्टरबाट २–२ जना पुरुष र महिलाको नाम समावेस गर्नु पर्छ ।
सुदूरपश्चिम प्रदेश
यो प्रदेशबाट ३ जना पिछडिएको क्षेत्रसहित १० पुरुष र ११ महिलाको नाम बन्दसूचीमा राखिएको हुनु पर्छ । जस अनुसार यो प्रदेशबाट आदिबासी–जनजाति क्लस्टरबाट एक जना मात्र, खसआर्यबाट सबैभन्दा धेरै ६ महिला र ६ पुरुष गरी १२ जना, थारुबाट २ महिला र २ पुरुष, दलितबाट २ पुरुष र २ महिलाको नाम बन्दसूचीमा राख्नु पर्छ ।
निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको समानुपातिक तर्फ बन्दसूचीको नाम पेश गर्दा यदि क्लस्टर अनुरुप नभएमा आयोगले संशोधनको लागि यही असोज १६ गतेसममको लागि समय छुट्याएको छ । पुरै सिटमा उम्मेदवारी नउठाउने राजनीतिक दलहरुले यही क्लस्टर बमोजिम प्रतिशत मिल्ने गरी उम्मेदवार उठाउनु पर्ने हुन्छ ।



कागजपत्र |
