
सरकारको दमन, अत्याचार र शोषणको भण्डाफोर गर्ने अनेरास्ववियुको घोषणा
काठमाडाैं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ।
असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको छ।
त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमूलक, रचनात्मक आन्दोलन गर्ने र महँगी, कालाबजारी, भ्रष्टाचार विरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ।
त्यस्तै इन्धनको मुल्यलाई बैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरी वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन्। उनले आागमी निर्वाचन धाधली रहित र निष्पक्ष रुपमा सम्पन्न गराउन पनि माग गरेको बताए। उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लागि पनि संघर्ष गर्ने उल्लेख गरिन्।
उनले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानूकल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए। महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ।



कागजपत्र |
