

कांग्रेसले समानुपातिकको बन्दसूची ३ बजे बुझाउने

काठमाडौं – निर्वाचन आयोगका अनुसार समानुपातिकको बन्दसूची बुझाउने समयावधिको अन्तिम दिन आज राजनीतिक दलहरुले समानुपातिकको सूची तयारी गर्दैछन् । यसै क्रममा सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको पनि महामन्त्री शर्माले जनाए ।
प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ ।
कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

