

साफ महिला च्याम्पियन्सिपको उपाधिको लागि आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ- साफ महिला च्याम्पियन्सिपको उपाधिको लागि सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ। सोमबार हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
नेपाल र बंगलादेश जसले जिते पनि प्रतियोगिताले नयाँ विजेता पाउनेछ। साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतको यात्रा यसपटक सेमिफाइनलमा टुंगिएपछि प्रतियोगिताले नयाँ च्याम्पियन पाउनलागेको हो।
नेपालले १–० ले हराउँदै यसअघिको सबै संस्करणको विजेता भारतको चुनौती समाप्त पारेको थियो। त्यसअघि समूह चरणमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो।
भारतमाथि जित निकाल्न सफल दुई टोलीबीच हुने यसपटकको फाइनल रोमाञ्चक हुने देखिएको छ।
फाइनलसम्मको यात्रा तय गर्दा यी दुई टोलीले निराश हुनुपरेको छैन। सबै खेल जितेको मात्र होइन दुवै टोलीले अहिलेसम्म गोल खाएका छैनन्।
नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो। सेमिफाइनलमा बलियो भारतमाथि १–० को ऐतिहासिक जित निकालेको थियो। साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको त्यो नै पहिलो जित हो।
अर्कोतर्फ सेमिफाइनलमा भुटानलाई ८–० ले हराउनुअघि बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो।
भारतसँग समूह चरणको अन्तिम खेलमा बंगलादेशले ३–० को शानदार जित निकालेको थियो।

