

पुलिसको लगातार दोस्रो जित, अर्धशतक प्रहार गर्ने पवन एक्लो खेलाडी

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।बिहीबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७५ रनको जित निकालेको हो ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले लुम्बिनी प्रदेशलाई जितका लागि दिएको ३११ रनको लक्ष्य लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै मात्र २३६ रन बनायो । लुम्बिनीका लागि सौरभ कँडेलले अर्धशतकीय पारी खेले । ६० बल खेलेका उनले ६ चौका र ५ छक्काको सहयोगमा ७४ रनको योगदान गरे ।
त्यस्तै ७१ बल खेलेका डेभ कँडेलले ७ चौकाको सहयोगमा ४९ रन बनाए । लुम्बिनीका लागि सन्दीप रजालीले ४० रन बनाउँदा कप्तान कृष्ण कार्कीले ४० रनको योगदान गरे । बलिङतर्फ पुलिसका लागि रासिद खान र पवन सरार्फले समान दुई(दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको थियो । पुलिसका लागि सुनील धमलाले शतकीय पारी खेले । १४५ बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा १०४ रन बनाएका हुन् ।
त्यस्तै, लुम्बिनीविरुद्धको खेलमा १३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरेका पवनले कीर्तिमान बनाएका हुन् । योसँगै पवन घरेलु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने पवन एक्लो खेलाडी बनेका छन् ।
त्यस्तै, ६१ बल खेलेका दीपेन्द्रसिंह ऐरीले ६ छक्काको सहयोगमा १ चौका प्रहार गर्दै ८५ रन बनाए । पुलिसका लागि अमित श्रेष्ठले २८ रन बनाउँदा आरिफ सेखले २९ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका लागि अनिल खरेल, दीपेन्द्र रावत, सौरभ कँडेल र कृष्ण कार्कीले समान एक(एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पुलिसले महत्त्वपूर्ण २ अंक जोडेको छ । लिगमा तीन खेल खेलेको पुलिस ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । दुई खेल खेलेको लुम्बिनीको २ अंक छ ।

