चिनियाँ नेताको भ्रमणले आज पनि काठमाडौँको सडक अस्तव्यस्त हुने


काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबा पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ।

उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ। आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै आजै दिउँसो १५:३० बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। उनको स्वागतमा सभामुख अग्निप्रसाद सापकोटा विमानस्थलमा पुगेका थिए। काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार चान्शुलाई भिभिआइपीको सुरक्षा दिइएको छ। यस्ता खालका सुरक्षा दिँदा औपचारिक सवारीको रूपमा हेरिने उनले बताए।

सवारी हुने कति समय अगाडि सडक खाली गर्ने भन्ने मूल्यांकन भने भिभिआइपीमा पनि भर पर्ने उनी बताउँछन्। सुरक्षा खतराको मूल्यांकन गरेर त्यसलाई रोकिने उनले बताए। चान्शुको सवारी हुने सडक कति समयअगाडि खाली गर्ने हो भन्ने बारे उनले खुलाएनन्।

प्रतिक्रिया