

पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी

वीरगञ्ज – दशैं नजिकिँदै गर्दा व्यवसायीहरुले पेट्रोल-डिजेलको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवसायीले असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा पेट्रोलियम पदार्थ लोड तथा अनलोड नगर्ने चेतावनी दिएका हुन् ।
व्यवसायीले राखेको माग पुरा नभएकोले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम यथावत राखिएको नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले जानकारी दिए ।
महासंघको भदौ २२ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि सम्पूर्ण ढुवानी व्यवसायीले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् ।
देशभरका कुनैपनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रमलाई यथावत राख्दै भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ गर्ने र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोरा बताउँछन् ।
नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राख्दै आएको छ ।

