

राष्ट्रिय आविष्कार केन्द्रलाई १ कराेड रुपैयाँकाे भवन कीर्ति रत्न पुरस्कार

काठमाडाैं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।
मङ्गलवार गैरआवासीय नेपाली सङ्घ र बीबी फाउन्डेशनको संयुक्त पहलमा काठमाडाैंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्र नभइ धेरैभन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरू खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो ।
देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुनपर्ने पुनले बताए । उनले आविष्कार केन्द्रहरूलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नति कहिल्यै नहुने दाबी गरे । अध्यक्ष पुनले हाई-वे, विमानस्थल र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए ।
कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए । उनले दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि नेपाल सबैभन्दा गरिब देशमा स्थापित रहेको दाबी गरे । उनले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए।
बीबी फाउन्डेसनका अध्यक्ष एवम् गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा भवन कीर्ति पुरस्कारको घोषणा गरेका हुन् । याे पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

