
केपी ओलीको दाबी : माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन
पोखरा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।
थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए ।
अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डोर्याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याए । उनले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनाव जस्तो नभएर आगामी चुनाव देशमा समृद्धि ल्याउन तथा संविधान कार्यान्वयन गर्न महत्वपूर्ण रहेको पनि बताए ।
जनताले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताए । उनले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।



कागजपत्र |
