
पाकिस्तानमा बाढीको असर : आश्रय शिविरमा ४७ लाख गर्भवती महिलाहरू
इस्लामाबाद। पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन्। स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन्।
सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन्।उनले बाढी पहिरोपछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन्। सो प्रान्तमा १ लाख ३४ हजारभन्दा बढी झाडापखाला र ४४ हजार मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ।
गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६ लाख ५० हजार गर्भवती महिलाहरू रहेका र जसमध्ये ७३ हजार जना यसै महिनामा सुत्केरी हुन लागेका उल्लेख गरेको छ।
बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन्। यस्तै, १०० भन्दा बढी सर्पदंश र ५०० भन्दा बढी कुकुरको टोकाइबाट पीडित भएका डन अखबारले उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघ एजेन्सीले महिलाहरू लैङ्गिक हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ। किनकि, बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन्।
पाकिस्तानले यस वर्ष विनाशक बाढीको सामना गरेको छ, जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ।
स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन्। त्यस्तै, यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेका तथ्याङ्कले देखाएको छ।



कागजपत्र |
