राजनीतिक अवस्थाबारे सम्पादकहरुसँग छलफल गर्दै दाहाल-नेपाल समूह


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले देशको पछिल्लो राजनीतिक अवस्थाबारे सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। अन्तरक्रिया कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जारी रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

छलफलमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन् । प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्था, संसद विघटनविरुद्ध पार्टीले चालेको कदम र सम्पादकहरुको भूमिकाबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा गत पुस ५ गते भएको संसद विघटन गरेपछि नेकपा दुई समुहमा विभाजन भएको छ । एक पक्षको नेतृत्व प्रचण्डले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी ओलीले लिएका छन्। प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधिसभा भंग भरेको भन्दै दाहाल-नेपाल समूह आन्दोलित छ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन्। अदालतको संवैधानिक इजलासमा आइतबारदेखि रिटमाथि बहस सुरु भएको छ।

प्रतिक्रिया