कर्णालीका नवनियुक्त दुई मन्त्री शाह र कामीद्वारा शपथ ग्रहण


सुर्खेत – कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।

सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराएका हुन् । योजना मन्त्री शाह र ऊर्जा मन्त्री कामीले सपथ लिएसँगै कार्यभार सम्हालेका छन् ।

माओवादी केन्द्रबाट योजना मन्त्री शाह जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने कामी रुकुम पश्चिमबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागि दुईजना मन्त्री फिर्ता बोलाएर सदस्यद्वय शाह र कामीलाई सरकारमा पठाइएको हो ।

शाह र कामीलाई मन्त्रीमा नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकार समावेशी बनेको छ । मन्त्रिपरिषदमा महिला र दलितको पनि सहभागिता छ । यस अघि अदालतको निर्देशनलाई लत्याउँदै मन्त्रीको शपथ गराए पछि सरकार असमावेशी भयो भन्दै चर्को आलोचना हुँदै आएको थियो ।

कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तीनदलीय गठबन्धनको सरकार छ । आठ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री र दुई मन्त्री, माओवादी केन्द्रका तीन मन्त्री र एकीकृत समाजवादीका दुई मन्त्री छन् ।

प्रतिक्रिया