माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी छ।

आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ । पार्टीका कमिटीहरूलाई पूर्णता दिइने बताइएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीमा नेताहरूको नाम प्रस्ताव गर्नेछन्।

यसअघि, हिजो बस्ने भनिएको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तता र प्रतिनिधिसभा बैठकका कारण पटक–पटक स्थगित गर्दै आज बिहान बस्ने तय गरिएको थियो।

गत असार १८ गते बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने चर्चा छ। उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन्।

त्यस्तै महासचिवमा देव गुरुङको चर्चा छ। महासचिवका दुई दावेदार वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेललाई उपमहासचिव प्रस्ताव गर्ने प्रचण्डको तयारी छ। पुन र शर्मा दुवैले महासचिवमा दाबी गरेपछि प्रचण्ड गुरुङलाई महासचिव बनाउने अवस्थामा पुगेको बताइएको छ।

प्रतिक्रिया