निर्वाचन नजिकिएसँगै फेरि गृहजिल्ला जाँदै एमाले अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आउने भएका छन् ।

आगामी मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै एमाले अध्यक्ष ओलीको गृहजिल्ला र निर्वाचन क्षेत्रको भ्रमण बाक्लिएको हो ।

अध्यक्ष ओली साउनको दोस्रो साता चार दिन झापा बसेर राजधानी फर्किएका थिए । अध्यक्ष ओली बिहीवार पुनः तीन दिने झापा बसाईको कार्यक्रम बनाएर आउने भएका हुन् ।

बिहीवार विहान अध्यक्ष ओली झापाको बनियानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाले जनाए ।

झापा आएपछि सो कार्यक्रमलाई सम्बोधन गरी अध्यक्ष ओली आफ्नो गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा बस्ने कार्यक्रम रहेको छ । यस्तै भदौ ३ गते शुक्रवार अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग अलग भेटघाटको कार्यक्रम तय गरिएको छ । गत साउनको ११ देखि १४ गतेसम्म झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग अलग भेटघाटको कार्यक्रम राखिएको हो ।

शुक्रवार नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । एमाले झापाका अनुसार भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उदघाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरी अधयक्ष ओली राजधानी फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया