राजनीतिक दलबारे अध्ययन गर्दै निर्वाचन आयोग


काठमाडौँ- निर्वाचन आयोगले आजदेखि राजनीतिक दलका बारेमा जाँच सुरु गर्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन चाहने दलले हिजोसम्म दिएको निवेदनको आजबाट अध्ययन सुरु गर्नेछ।

मंसिर ४ को निर्वाचनका लागि साउन २२ देखि साउन ३१ सम्म दल दर्ताको निवेदन दिन आयोगले माग गरेको थियो। ‘यी सबै दललाई निर्वाचनमा सहभागी हुन पाउने/नपाउनेबारे आजबाट आयोगले अध्ययन गर्छ,’ आयोगका प्रवक्ता शालिकराज शर्माले भने,‘आजबाटै काम सुरु गर्छौ।’

शर्माका अनुसार यसपटक दलहरूले प्रत्यक्ष निर्वाचितभन्दा समानुपातिक उम्मेदवारको सूची छिट्टो बुझाउनु पर्नेछ। समानुपातिकमा उम्मेदवार धेरै हुने र आयोगलाई ‘होमवर्क’ गर्न गाह्रो हुने भएकाले छिट्टो लिष्ट बुझाउन आयोगले अनुरोध गरेको हो।

आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन्। आयोगमा १२ दलले चार चुनाव चिह्न लिएर संयुक्तरूपमा लड्ने भएका छन्। शर्माका अनुसार दलहरूले संयुक्तरूपमा निर्वाचनमा जान आयोगमा निवेदन दिएका हुन्।

प्रतिक्रिया