
विवेकशील साझामा नयाँ नेतृत्व, अध्यक्षमा समीक्षा बास्काेटा चयन
काठमाडाैं – विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गएकाे जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज आइतवार बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य समीक्षा बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन भएका छन् । विवेकशील साझा पार्टी बाग्मती प्रदेशकी पूर्वसंयोजक ३८ वर्षीय बास्कोटा गएकाे वैशाखमा सम्पन्न पालिका चुनावकाे काठमाडाैं महानगरपालिकाको मेयरको उम्मेदवार हुन् ।
त्यसअघि उनले २०७४ को चुनावमा काठमाडाैं क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् । उनले काठमाडाैं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।
संयोजक चयन हुनुभएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अङ्ग्रेजी भाषामा स्नातक गरेका छन् । ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।
केन्द्रीय समिति बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आउँदाे मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।
बैठकले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रादेशिक चुनावमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ ।



कागजपत्र |
