आम निर्वाचन : असोज २३ मा उमेदवारी दर्ता


काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ।

प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ। असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ। असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका रहेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोग स्रोतले जनाएको छ।

असोज २८ गतेदेखि मंसिर १ गतेसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उमेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ।

मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ। आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन्। समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन्।

 

प्रतिक्रिया